काठमाण्डौ । निर्वाचनको समयमा जथाभावी समाचार प्रकाशन गर्ने मिडिया प्रति प्रेस काउन्सिल आक्रामक बनेको छ । काउन्सिलले विभिन्न न्युज साईटहरुलाई नेपालमा खोल्न नमिल्ने गरि कारवाही गरेको छ ।
यस्तो कारवाहीमा पर्नेमा २३ वटा वेब पोर्टल रहेका छन । उनीहरूले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले बताएको छ ।
आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । यस्तै, चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई गम्भीर बन्न निर्देशन दिइएको छ ।
आठ वटा मिडियालाई लिखितरूपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार माध्यमलाई लिखितरूपमा आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ ।