न्युजिल्याण्डलाई निराश बनाउँदै टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

काठमाडौं - अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ । 

लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम बनेको अस्ट्रेलियाबाट टी–२० विश्वकपको उपाधि भने टाढा रहँदै आएको थियो ।  यसअघि सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो । तर यसपटक भने न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य १८.५ ओभरमा पछ्याउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । 

अस्ट्रेलियालाई जीत दिलाउन मिचेल मार्सले नटआउट रहँदै ७७ रनको महत्त्वपूर्ण पारी खेले । मात्र ५० बलको पारीमा उनले ६ चौका र ४ छक्का हिर्काए । कप्तान एरोन फिन्चलाई तेस्रो ओभरमा नै गुमाए पनि मार्सले डेभिड वार्नरसँग मिलेर इनिङ सम्हालेका थिए । बोल्टको बलमा बोल्ड हुन अघि वार्नरले मात्र ३८ बलमा ५३ रन बनाए । ग्लेन म्याक्सवेलले पनि नटआउट रहँदै २८ रनको योगदान दिँदै टोलीलाई जीतसम्म डोर्याए । न्युजिल्याण्डका लागि दुवै विकेट ट्रेन्ट बोल्टले लिएका थिए । 

यसअघि कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले टी–२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७२ रनको बनाएको थियो । 

विलियमसनले मात्र ४८ बलमा ८५ रन बनाए। जस हेजलवुडको बलमा आउट हुन अघि उनले १० चौका र तीन छक्का हिर्काए । त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए । अस्ट्रेलियाका लागि हेजलवुडले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने एडम जाम्पाले पनि मात्र २६ रन खर्चिदै १ विकेट लिए ।

टी–२० विश्वकपको पहिलो फाइनल खेलेको न्युजिल्याण्ड पुन: एकपटक अभागी साबित बनेको छ । यसअघि ५० ओभरको विश्वकपको फाइनलमा न्युजिल्याण्ड लगातार दुईपटक पराजित भएको थियो । सन् २०१५ मा अस्ट्रेलिया र सन् २०१९ मा इंग्ल्याण्डसँग हारको सामना गर्नुपरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय