सध्या पराजुली / काठमाण्डौ । आधुनिक गीतको क्षेत्रमा आफ्नो फरक परिचय बनाइरहेका युवा सर्जक तथा कुशल गायक सञ्जीव पराजुलीको आवाज रहेको निकै सुमधुर गीत जिउने आधार भर्खर मात्र सार्वजनिक भएको छ ।
यसअघि पनि दर्जनौं गीतमा आवाज दिइसकेका लोकप्रिय गायक पराजुलीले आफ्नो पछिल्लो गीतमार्फत आफ्नै छोरा सुनय पराजुलीलाई समेत सार्वजनिक गरेका छन । उनको अभिनय समेत गीतमा निकै दमदार रहेको हामीले देख्न सक्छौँ । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरू आइरहेको निर्माण युनिटले आर्थिक सन्देशलाई जानकारी दिएको छ ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा सुनय पराजुलीलाई अभिनयमा विना राउतले साथ दिएकी छन । माया प्रेमको कथामा बनेको गीतलाई भिडियो निर्देशन भने गणेश शाहीले गरेका छन ।