काठमाडौं — बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु-२० च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो पहिलो साफ यु-२० च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो।
बंगलादेशले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो। मिरजुल इस्माइलले खेलको पहिलो गोल गर्दै बंगलादेशलाई अगाडि बढाए। त्यसपछि खेलको ५५औँ मिनेटमा मिरजुलले नै दोस्रो गोल थपे। बंगलादेशको तेस्रो गोल ७१औँ मिनेटमा रब्बी हुसेनले गरे भने चौथो गोल इन्जुरी समयमा पियास अहमद नोभाले गरे।
नेपालका लागि एकमात्र सान्त्वना गोल समीर तामाङले खेलको ८०औँ मिनेटमा गरेका थिए।
यो जितसँगै बंगलादेशले पहिलो पटक साफ यु-२० च्याम्पियनसिपको उपाधि आफ्नो नाममा लेखाएको छ।