काठमाडौंं - साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १०.२७ अंक बढेर २१२३.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन १७.६७ अंक घटेर २१०६.१६ विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम, अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको छ। यस दिन २१४ स्टकको ४४ हजार ५५३ पटकको कारोबारमा २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको ६५ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन युनिलिभर नेपाल र आरबिबि म्युचुअल फण्डको मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जानकी फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.३१ प्रतिशत घटेको छ।