काठमाडौंँ - काठमाडौंका मेयर बालेन्द्र शाहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन् । मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका हुन् । यसबाट पर्न सक्ने असुविधाका लागिमहानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता गर्न नसकिने बताएका छन् ।
अब फोहोर उठ्नेछ । यो सबैको लागि निसन्देह: खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।' मेयर शाहले भनेका छन् ।
फोहोर उठ्नु मात्रै समाधान नभएर अब अझै धेरै कुरा बाँकी रहेको उनले बताएका छन् । 'हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फालेर वा थुपारेर हुँदैन,' उनले भनेका छन्, ' समाधान तपाईंहरुको साथबिना सम्भव हुँदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ ।'