नारायणगढबाट चल्ने सिटिबस अब मोबाईल एप बाटै निगरानी गर्न सकिने

चितवन - नारायणगढबाट संचालन हुने सिटिबसहरुलाई अब मोबाईल एप बाटै निगरानी गर्न सकिने भएको छ । बस संचालक कम्पनी ग्लोबल मेट्रो सिटिबस प्रालिले मोबाईल एप लन्च गरेसंगै कम्पनीका बसहरु ‘रियलटाईम’ मा कँहा र कुन गतिमा गुडिरहेका छन् ट्रयाक गर्न सकिने भएको हो ।

एप डाउनलोड गरेपछि सिटिबसका बसहरु कँहा गुड्दै छ र आफ्नो स्टेशन सम्म आउन कति समय लाग्छ भन्ने बारे जानकारी पाउन सकिने एप निर्माता कम्पनीका कार्यकारी निर्देशक क्षितिज कार्कीले बताए । यसबाट सेवाग्राहीलाई समयको व्यवस्थापन गर्न सहज हुने उनको भनाई छ ।

भरतपुरमा विहिबार आयोजित एप्लिकेसन लन्च कार्यक्रममा निर्देशक कार्कीले हाल एप बेटा भर्सनमै रहेको र प्रयोगकर्ताको सूझावका आधारमा फिचरहरु थप्दैजाने योजना रहेको बताए । एप्लिकेसन हाल एन्ड्रोईड स्टोरमा मात्र उपलब्ध रहेको जानकारी दिंदै कार्कीले केहि समयमा नै आईओएस प्रयोगकर्ताले पनि एप प्रयोग गर्न पाउने बताए । नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध एपमा आफ्नो गुगल एकाउन्टबाट लगईन गरि खाता निर्माण गर्न सकिन्छ ।

कार्यक्रममा बस संचालक कम्पनीका बोर्ड डाईरेक्टर शंकर गिरीले स्मार्टसिटीको अवधारणामा अगाडी बढिरहेको भरतपुर महानगरपालिकामा चल्ने सार्वजनिक यातायातहरु पनि स्मार्ट नै हुनुपर्छ भन्ने उद्देश्यले एप लन्च गरिएको बताए । सिटिबसमा यात्रा गर्दा लाग्ने भाडा पनि अब मोबाईल वालेटहरुबाट नै तिर्न सकिने प्रणाली पनि छिट्टै सुरु गर्ने उनले जानकारी दिए ।

कम्पनीले हाल नारायणगढबाट ३० वटा बस मार्फत फरक फरक तिन गन्तव्यमा सेवा संचालन गरिरहेको छ । कम्पनीले नारायणगढ-जगतपुर-नयाँबस्ती, नारायणगढ-डण्डा र पोखरा बसपार्क-देवघाट रुटमा सेवा संचालन गरिरहेको हो । एप लन्च कार्यक्रममा कम्पनीका संचालक गौतमकृष्ण न्यौपाने, चितवन यातायात सेवा प्रालि छहारीका अध्यक्ष बद्रि पौडेल लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिक्रिया