चितवन । देशका युवालाई रोजगारी र अवसरको अभावमा विदेशिन बाध्य बनाउने राजनीतिक प्रवृत्तिप्रति श्रम संस्कृति पार्टी चितवनका पूर्वजिल्ला प्रवक्ता शिव शर्माले असन्तुष्टि व्यक्त गरेका छन्। हाल युरोप भ्रमणमा रहेका शर्माले देशको भविष्य निर्माणमा युवाको निर्णायक भूमिका आवश्यक रहेको बताएका छन्।
निर्वाचनका बेला जनतासामु आकर्षक आश्वासन प्रस्तुत गर्ने, नयाँ विचार र परिवर्तनको नारा दिने तर सत्तामा पुगेपछि जनताप्रति उत्तरदायी बन्न नसक्ने राजनीतिक संस्कारका कारण मुलुकले अपेक्षित गति लिन नसकेको उनको आरोप छ। उनका अनुसार लामो समयदेखि पुराना राजनीतिक शक्तिले जनताको श्रम, पसिना र परिवर्तनको अपेक्षामाथि राजनीति गर्दै आएका छन्।
नयाँ राजनीतिक शक्तिप्रति जनताले आशा र भरोसा राखेर मत दिए पनि व्यवहारमा अपेक्षित परिवर्तन देखिन नसकेको शर्माको भनाइ छ। छिमेकी मुलुक भारत र चीन आर्थिक तथा पूर्वाधार विकासमा तीव्र गतिमा अघि बढिरहेका बेला नेपालमा भने सत्ता, भागबन्डा, कमिसन र राजनीतिक स्वार्थ केन्द्रित गतिविधि हावी भएको उनले आरोप लगाएका छन्।
देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा ठूलो संख्यामा ऊर्जाशील युवा विदेशिन बाध्य भएको उनले बताएका छन्। उनका अनुसार युवाशक्ति देशको सबैभन्दा ठूलो सम्भावना भए पनि रोजगारी र अवसरको अभावका कारण त्यही पुस्ताले आफ्नो भविष्य विदेशमा खोज्नुपर्ने अवस्था सिर्जना भएको छ।
“देशको सबैभन्दा ठूलो सम्पत्ति युवा हो। परिवर्तनको मुख्य संवाहक पनि युवा नै हो। तर आज देशको भविष्य बोकेको पुस्ता नै देशबाहिर छ। यो अवस्था बदल्न अब युवा मौन बसेर हुँदैन,” शर्माले भनेका छन्।
उनले भ्रष्टाचार, कमिसनखोरी, दलाली र जनउत्तरदायित्वविहीन राजनीतिक संस्कारविरुद्ध युवाले संगठित रूपमा आवाज उठाउनुपर्ने बताएका छन्। उनका अनुसार अब केवल सरकार परिवर्तनको बहसमा सीमित नभई राजनीतिक संस्कार र कार्यशैलीमै परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ।
“अब केवल सरकार परिवर्तन होइन, राजनीतिक संस्कार नै परिवर्तन गर्नुपर्छ। आवश्यक परे युवाले आफ्नो सम्पूर्ण शक्ति लगाएर संघर्ष गर्न तयार हुनुपर्छ,” शर्माको भनाइ छ।
शर्माले यसअघि श्रम संस्कृति पार्टी चितवनको जिल्ला प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। पछि उनले पार्टी परित्याग गरेका हुन्। पछिल्लो समय उनी मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) निकट राजनीतिक धारसँग नजिक रहेको बताइन्छ। युरोपमा रहेर पनि उनले नेपालमा युवा, रोजगारी, उत्पादन र राजनीतिक परिवर्तनका विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्।
उनको अभिव्यक्तिको मुख्य जोड देशको भविष्यसँग जोडिएको युवा पुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्ने र राजनीतिक परिवर्तनमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा छ। विदेशिन बाध्य युवालाई देशमै रोक्ने वातावरण निर्माण गर्न नसकिए मुलुकको आर्थिक तथा सामाजिक भविष्य थप चुनौतीपूर्ण बन्ने उनको धारणा छ।