जाजरकोट - कुशे गाउँपालिकामा आएको बाढीले एक शिक्षकको ज्यान लिएको छ । शनिबार राति खोलामा माछा मार्न गएका मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक इन्द्रबहादुर रोकायको बाढीले बगाएर मृत्यु भएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष देविका सिंहका अनुसार राति ११ बजेतिर खोलामा माछा मार्दै गरेका बेला रोकायलाई बाढीले बगाएको थियो ।
यसै घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने रहेका छन् । घाइतेको उद्धार भइसकेको छ ।
अविरल वर्षाका कारण कुशे गाउँपालिकाका विभिन्न स्थानमा पहिरो र बाढीको समस्या आएको छ । पहिरोले घर, खेतबारी, सडक लगायतमा क्षति पुगेको छ ।