भरतपुरबाट भारतीय एयरफोर्सको जहाजमा २५ शव भारत पठाइयो

काठमाडौं - तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको शव भारत पठाइएको छ। भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि ती शवलाई आज अपराह्न भारतीय एयरफोर्सको जहाजमार्फत भरतपुर विमानस्थलबाट भारत पठाइएको हो।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मृतक २७ मध्ये २५ जनाको शव जहाजमार्फत पठाइएको छ।

बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ।मृतकका शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से भरतपुर आइपुगेकी थिइन्। मृतक यात्रुहरूको शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याइएको थियो, प्रजिअ यादवले जानकारी दिए।तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा शुक्रबार बिहान सडकबाट बस खस्दा २७ भारतीय पर्यटकको मृत्यु भएको थियो। ती पर्यटकहरू पशुपतिनाथ दर्शन गर्न जाँदै थिए।

मृतकमध्ये १५ महिला, ११ पुरुष र चार वर्षीया एक बालिका रहेका छन्। घाइतेहरूमा छ पुरुष र १० महिला रहेका छन्।प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए। घाइतेहरूको उपचार काठमाडौंमा भइरहेको छ। प्रजिअ यादवका अनुसार मृतक र घाइते भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लाको भुसावल गाउँका हुन्।युपी ५३ एसटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं जाँदै गर्दा आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भारत सरकारकी राज्यमन्त्री खड्सेलाई भरतपुर विमानस्थलमा भेट गरी सो घटनाप्रति दुःख व्यक्त गरेका थिए।

प्रतिक्रिया