शेयर बजार अस्थिर हुनुको कारण यस्तो छ


काठमाडौं– बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा देखिएको उतारचढावले यो साता शेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदर घटाए पनि सेयर बजारमा भने नकारात्मक नै असर देखियो । दसैं बिदापछि खुलेको बजार यो साता ८३ अंकले घटेको छ । दसैंअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६३९ अंकमा बन्द भएको थियो । साताको पहिलो दिन आइतबार नेप्से १७ अंकले बढेपछि सोमबार र मंगलबार उच्च अंकले घटेको थियो । यसैगरी बुधबार ६० अंकले बढेको नेप्से साताको अन्तिम दिन बिहीबार १४.७० अंकले घटेर २५५६.९५ अंकमा झरेको छ ।


यो साता बैंकको ब्याजदरका कारण बजार प्रभावित भयो । बैंकहरुले कात्तिकका लागि प्रकाशित गरेको ब्याजदर पौने १२ प्रतिशतसम्म तोकेपछि बजार उच्च अंकले घटेको थियो ।मंगलबार राति निर्देशन जारी गर्दै १० प्रतिशतसम्म मात्र ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको राष्ट्र बैंकले बुधबार भने मौखिम रुपमा ब्याजदरको सीमा नै तोकिदिएको थियो । बैंकहरुले बुधबार नै ब्याजदर परिवर्तन गर्दै राष्ट्र बैंकको चाहनाअनुसार एकल विन्दुमा नै ब्याजदर कायम गरेका छन् । बैंकहरुले ब्याजदर घटाए पनि बिहीबार बजारमा सकारात्मक प्रभाव पर्न सकेन ।


बिहीबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । म्युचुअल फण्ड र अन्य समूह बाहेकका समूहगत परिसूचक ओरालो लागे । सबैभन्दा बढी विकास बैंक समूह २।०३ प्रतिशतले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार २१६ कम्पनीका ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्व ६३ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । यसदिन १५१ कम्पनीको मूल्य घट्दा ३० कम्पनीको मूल्य वृद्धि भएको छ भने पाँच कम्पनीको स्थिर रहेको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय