काठमाडौं । नेपालको अर्थतन्त्रमा आयातप्रतिको निर्भरता थप गहिरिँदै गएको देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा आयात, निर्यात र कुल वैदेशिक व्यापार सबै बढे पनि व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ रहेको थियो।
गत आर्थिक वर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरका वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.२० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको आयात भएको थियो।
यस्तै, समीक्षा अवधिमा वस्तु निर्यात पनि १३.८१ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।
यद्यपि आयातको वृद्धि निर्यातभन्दा तीव्र रहेकाले व्यापार घाटा पनि उल्लेखनीय रूपमा बढेको छ। विभागका अनुसार गत आर्थिक वर्षमा व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो।
तथ्यांकले नेपालको वैदेशिक व्यापारमा आयातकै वर्चस्व कायम रहेको देखाएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा १३.०७ प्रतिशतमा सीमित रहेको छ।
यस्तै, आयात–निर्यात अनुपात पनि बढेको छ। अघिल्लो आर्थिक वर्ष ६.५१ रहेको यो अनुपात गत आर्थिक वर्ष २.१० प्रतिशतले वृद्धि भएर ६.६५ पुगेको छ। यसको अर्थ प्रत्येक एक रुपैयाँ बराबरको निर्यात हुँदा नेपालले करिब ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गरिरहेको अवस्था कायम रहेको तथ्यांकले देखाएको छ।