काठमाडौं– भारी वर्षासँगै आएको बाढीले काठमाडौँ र ललितपुरको जनजीवनमा ठूलो असर पारेको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार, काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ।
काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको छ। बाढीका कारण काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट लगायतका क्षेत्र डुबानमा परेका छन्।
काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो जाँदा एक घरमा क्षति पुगेको छ। नयाँ बसपार्क र मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ।