नेप्सेमा पहिरो जानेक्रम रोकिएन,आइतबार पनि दोहोरो अङ्कले घट्यो बजार

काठमाडौं । आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बजार बन्द भएको छ । 

सूचक ओरोलो लाग्दै गर्दा खरिदबिक्री रकम पनि घटेको छ । यस दिन नेप्से सूचक ३०।८९ अंकले घटेर २५१३।४१ विन्दुमा आएर अडिएको छ । १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार फेरि आम लगानीकर्ताका लागि समेत निकै महत्व राख्ने २५ सय विन्दुको मनोवैज्ञानिक विन्दु नजिक आएको छ ।

यसअघि पनि बजार यही २५ सय विन्दुकै आसपासबाट फर्किएको थियो । बजारले पटकपटक २५ सय आसपासको विन्दुलाई सपोर्ट बनाइरहेको छ । अब के होला भन्ने फेरि चासो सुरु भएको छ । विश्लेषकहरुले २४८० देखि २५ सयकै विन्दु आसपासमा फेरि पनि महत्वपूर्ण सपोर्ट लेबलहरु रहेको बताइरहेका छन् । तथापि, बजारले भने कस्तो प्रतिक्रिया देखाउँछ, त्यो भने हेर्न बाँकी नै छ । 
 
लामो समयदेखि बजार एक हिसाबले गन्तव्यहीन जस्तै भएको छ । नेप्सेले माथिल्ला विन्दुहरु तय गर्न पनि सकेको छैन । यसैगरी सार्प करेक्सन पनि आएको छैन । समग्रमा बजार साइडवेजमा छ । सोहीकारण टर्नओभर पनि ड्राइ भएको हो । किन भने नेप्से साइडवेजमा रहँदा बजार बढ्छ भनेर लगानीकर्ता आकर्षित हुन सकेका छन् न त मज्जाले घटेर नेप्से अझै तल आउँछ भनेर कुरिरहेका नयाँ लगानीकर्तालाई खरिद अवसर नै मिलेको छ ।

बजार सामान्यतयरु उस्तैउस्तै रेखाको आसपासमा नेप्से लामो समयसम्म घुमिरहँदा लगानीकर्ता पनि ‘पर्ख र हेर’कै अवस्थामा रहेका छन् । पुँजी वृद्धिपछि बिमा कम्पनीहरुको मूल्यले नयाँ उचाईहरु बनाउन त सकेका छैनन् । तथापि, बिमा समूहहरुमै लगानीकर्ताको अधिक आकर्षण रहेको अनुमान भने लगाउन सकिने भएको छ । पछिल्ला दिनहरुमा औसतमा बिमा कम्पनीहरुकै कारोबार राम्रो देखिएको छ ।

टप टेनमा कारोबार भएकाहरुमा पनि बिमा समूहकै कम्पनीहरु धेरै हुने गरेका छन् । यसआधारमा थोरै सकारात्मक माहोल आउने बित्तिकै बिमा समूहहरुले लीड गर्न सक्ने संकेत देखिएको विश्लेषकहरुको भनाई रहेको छ । बिमामा  पुँजी वृद्धिले कुनै बेला रौनकता ल्याउने अनुमान गर्ने धेरै रहेका छन् । 
 
बजार लामो समयदेखि २५ सय विन्दु माथि घुमिरहेको छ । नेप्से सूचक २५ सय विन्दु आसपासमा आउने फेरि २६ सय आसपासमा पुग्दानपुग्दै फर्किहाल्ने गरेको छ । यो चक्र बारम्बार दोहोरिरहेको छ । यसले समग्रमा बजारले अहिले साइडवेजमा गएको देखाउँछ । वित्तीय प्रणालीमा तरलता अवस्था सहज नभएकाले बजार साइडवेजमा गएको अनुमान गरिएको छ । बजार करिब ८ महिनायता करेक्सन फेजमा रहेको छ । 
 
लामो समयसम्म नेप्से करेक्सनमा गएकाले भाउहरु निकै सस्तो भइसकेको अवस्था छ । यसर्थ, अब खासै तल जाने ठाउँ छैन । यस्तै, बुल –याली सुरु हुनका लागि तरलता अवस्था र बैंक ब्याजदरले केही अप्ठेरो बनाइरहेको जस्तो देखिन्छ । तथापि, विश्लेषकहरुले टेक्निकल्ली बजार बुल रनमै रहेको र थोरै तरलता अवस्था सहज हुने बित्तिकै बजारले नयाँ उचाईतर्फको यात्रा तय गर्ने दाबी गरिरहेका छन् ।
 
सेयर बजारको सिजन सुरु हुँदैछ । वैशाख लागेपछि सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पनि आउन थाल्नेछ । निर्वाचनको मिति नजिकिंदैछ । नयाँ बजेटको तयारी सुरु हुनै लाग्दा चालु आवको सरकारी खर्च पनि वृद्धि हुन थालेको छ । यी सन्दर्भहरुमा केही समयपछि नै बजारले गति लिने विश्लेषकहरुको अनुमान रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय