अधिकांश बैकहरूमा अधिक तरलता,बढ्न सकेन लगानी

काठमाडौं — चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकिङ प्रणाली अत्यधिक तरलताको मारमा परेको छ। नेपाल राष्ट्र बैंकको नियामकीय मापदण्डअनुसार कर्जातर्फ निक्षेपको अधिकतम ९० प्रतिशत (सिडी रेसियो) र न्यूनतम २० प्रतिशत (एनएलडी रेसियो) कायम गर्नुपर्नेमा हाल वाणिज्य बैंकहरूको औसत सिडी रेसियो ७९.३० र एनएलडी रेसियो ३०.९९ प्रतिशत पुगेको छ।

सिडी रेसियो घट्नु र एनएलडी रेसियो बढ्नुको मुख्य कारण बैंकहरूले कर्जा प्रवाह गर्न नसकेको अवस्था हो। हाल केही बैंकहरूको सिडी ६३ प्रतिशत र एनएलडी ४५ प्रतिशत नजिक पुगेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २० सम्म बैंकिङ प्रणालीमा २ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी लगानी योग्य तरलता मौज्दात छ।

तर, चैत मसान्तमा प्रणालीमा रहेको तरलता १ खर्ब ६ अर्ब रुपैयाँ थियो। यसले बैंकहरूमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह न्यून रहेको देखाउँछ। अघिल्लो त्रैमासहरूमा पनि यस्तै अवस्था देखिएको हो। पहिलो त्रैमासमा औसत सिडी रेसियो ७८.१० प्रतिशत थियो भने दोस्रोमा ७९.१० प्रतिशत पुगेको थियो। एनएलडी रेसियो पनि सोही क्रममा घटबढ भएको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार, बैंकमा तरलता धेरै हुनु दीर्घकालीन दृष्टिकोणले राम्रो संकेत होइन। "डिपोजिट आइरहँदा पनि लोन दिन नसक्नु भनेको बैंकको नाफामा धक्का लाग्नु हो," उनले भने। उनले सन्तुलित सिडी र एनएलडी कायम भए मात्र बैंकको वित्तीय अवस्था सुरक्षित रहन सक्ने बताए।

राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार पनि बैंकहरू अहिले लगानी गर्न नसकेको अवस्था हो, तर कर्जाको माग पनि पर्याप्त नभएकोले तरलता बढेको हो। उनका अनुसार, "लिक्विडिटी राम्रो हुनु सोल्भेन्सीको दृष्टिकोणले सकारात्मक हो, तर कर्जा विस्तार नभए बैंकको आम्दानी घट्छ।"

बैंकहरू कर्जा दिन नसक्दा राष्ट्र बैंकले न्यून ब्याजदरमा तिनबाट निक्षेप संकलन गरिरहेको छ। चालु वर्षमै राष्ट्र बैंकले ७० पटक बोलकबोल प्रक्रियामार्फत करिब २४ खर्ब रुपैयाँ बैंकहरूबाट निक्षेप उठाइसकेको छ। यसले बैंकहरूलाई कम ब्याजदरमा रकम राख्न बाध्य बनाएको छ।

स्प्रेड दर पनि घट्दै गएको छ। राष्ट्र बैंकले बैंकहरूलाई अधिकतम ४ प्रतिशत स्प्रेड कायम गर्न अनुमति दिएको भए पनि हाल औसत स्प्रेड ३.७७ प्रतिशतमा झरेको छ। कतिपय बैंकहरूमा त यो दर साढे ३ प्रतिशतभन्दा तल छ।

संघका अध्यक्ष कोइरालाका अनुसार, कम ब्याजदर राखेर ऋणीलाई आकर्षित गर्न खोज्दा पनि पर्याप्त कर्जाको माग नहुँदा बैंकहरूको आम्दानी घट्ने खतरा बढेको छ। चालु वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी २.६६ प्रतिशतले घटेको छ भने कर्जा प्रवाहमा मात्र ७.१६ प्रतिशत वृद्धि देखिएको छ, जब कि निक्षेप १२.४२ प्रतिशतले बढेको छ।

यसरी, बैंकको प्रमुख आम्दानीको स्रोत मानिने ब्याज आम्दानी घटेपछि बैंकहरू अन्य सञ्चालन आम्दानी र नेट ट्रेडिङ इनकममा निर्भर भइरहेका छन्। चैत मसान्तसम्ममा अन्य सञ्चालन आम्दानी ४३.६३ प्रतिशत र ट्रेडिङ इनकम ५५.६३ प्रतिशतले बढेको छ।

यदि यही अवस्था जारी रह्यो भने बैंकहरूको चौथो त्रैमासको नाफा अझै घट्ने सम्भावना देखिएको छ।

बैंक खुद तरलता अनुपात (एनएलडी) 2080 कर्जा निक्षेप अनुपात (सीडी) 2080 स्प्रेड दर 2080
स्टान्डर्ड चार्टर्ड बैंक 48.30% 60.84% 8.00%
राष्ट्रिय वाणिज्य बैंक 39.10% 69.04% 8.00%
प्रभु बैंक 36.60% 66.39% 6.10%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक 36.60% 65.89% 5.20%
नेपाल बैंक 36.90% 66.16% 5.10%
नेपाल एसबिआई बैंक 33.80% 68.00% 5.10%
ग्लोबल आइएमई बैंक 36.20% 67.63% 5.10%
कुमारी बैंक 32.60% 67.84% 4.70%
सिद्धार्थ बैंक 32.90% 67.82% 4.40%
सिभिल बैंक 33.10% 69.25% 4.30%
लुम्बिनी बैंक 30.50% 70.58% 4.30%
एनआईसी एशिया बैंक 33.10% 69.69% 4.20%
माछापुच्छ्रे बैंक 31.10% 71.67% 4.20%
प्राइम कमर्सियल बैंक 32.10% 69.38% 4.10%
सनराइज बैंक 30.90% 69.52% 4.00%
एनएमबि बैंक 31.10% 71.71% 4.00%
शिवम बैंक 32.10% 70.18% 4.00%
साना किसान विकास बैंक 31.40% 71.77% 4.00%
हिमालयन बैंक 30.80% 70.91% 4.00%
मेगा बैंक 30.10% 71.35% 3.90%
मञ्जुश्री बैंक 30.50% 71.85% 3.80%
लक्ष्मी सनराइज बैंक 30.80% 71.91% 3.80%
सिटिजन्स बैंक 30.80% 72.18% 3.70%

 

प्रतिक्रिया