सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक र मौद्रिक नीतिमार्फत आर्थिक वृद्धि हासिल गर्ने बताएकी छिन्। उनले कृषि र उद्योग क्षेत्रबाट आर्थिक वृद्धि हासिल गरिने बताइन्।

भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ठूला र रणनीतिक महत्त्वका परियोजनाहरु अगाडि बढाइने घोषणा गरिन्। रेमिटेन्सलाई प्रोत्साहित गर्न थप योजना ल्याइने पनि उनले बताइन्।

भण्डारीले अघिल्लो सरकारको सिफारिसमा दुईपटक संसद विघटन गरेकी थिइन्। पुनर्स्थापित संसदमा उनी पहिलोपटक नीति तथा कार्यक्रम पढ्न पुगेकी हुन्।

राष्ट्रपति भण्डारीले सबै भुक्तानी विद्युती कारोबारमार्फत हुने ब्यवस्था गर्न लागिएको बताइन्। उनले उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहज बनाउने पनि बताइन्। वित्तीय रुपमा बोझिला संस्थाहरु खारेज वा मर्जरमा लैजाने नीति सरकारले लिने उनले उल्लेख गरिन्।

सरकारको नीति तथा कार्यक्रम पढ्दै उनले पुँजी बजारको विकास र विस्तारका लागि उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गरिने बताइन्। आगामी वर्ष नेपालको क्रेडिट रेटिङ गरिने पनि उनले बताइन्।

यस्तै, उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार समान उद्देश्य रहेका सहकारी कोषलाई गाभिने भएको छ। गरिब परिवारलाई सरकारी सेवा उपलब्ध गराउन परिचय पत्रको व्यवस्था गरिने भएको छ।

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा परिचालन गरिने सरकारी योजना छ। कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक वृद्धिको आधार बलियो बनाइने भएको छ।

गठबन्धन सरकारको यो पहिलो नीति तथा कार्यक्रम हो। अहिले कार्यान्वयन भएको नीति तथा कार्यक्रम अघिल्लो केपी ओली सरकारको पालाको हो। त्यही सरकारले ल्याएको अध्यादेश बजेटलाई केही हेरफेर गरेर गठबन्धन सरकारले कार्यान्वयन गरिरहेको छ।

प्रतिक्रिया