ह्यात होटलले पनि आइपीओ निष्कासन गर्ने,कति कित्ता आउला शेयर ?

काठमाडौं। नेपालमा प्राथमिक शेयरको निकै चर्चा हुने गरेको छ । दुई दर्जन भन्दा धेरै कम्पनीहरु आइपीओ निष्कासनको पाइपलाइनमा छन् । 

यसै बीच ह्यात प्लेस होटलको प्रबर्द्धक कम्पनी सिटी होटेल लिमिटेडले सर्वसाधरणलाई आइपीओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

कम्पनीले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषसमेत) मा जारी पूँजीको १० प्रतिशतका दरले सेयर जारी गर्न लागेको जनाएको छ। 

होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदीलगायतका व्यापारीहरुको लगानी छ। १५३ वटा कोठा रहेको होटलमा लाइभ म्यूजिकसहितको रेष्टुरेन्ट, ब्यांकेट हल, जिम, स्विमिङ पुल र ४०० जनासम्मको क्षमता रहेको कन्फ्रेन्स हल छन्। 

अमेरिकामा रहेको ह्यात होटल्स कर्पोरेसनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा एक हजार वटाभन्दा बढी अन्तर्राष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन्। सोही अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस आएको कम्पनीले जनाएको छ। 

सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्तिकुमार गोल्याण र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। 

अब यो कम्पनीको आइपीओ निष्कासन प्रकृया अघि बढेको छ । 

प्रतिक्रिया