काठमाडौँ — साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ११३.४२ अंकले बढेको छ। ४.४१ प्रतिशतले वृद्धि भएको नेप्से परिसूचक २६८१.५६ विन्दुमा पुगेको हो।
बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो। त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बन्द गरियो। उच्च अंकले वृद्धि भई दुई पटक सर्किट ब्रेकर लागेर कुल ६० मिनेट बजार बन्द रह्यो।
आज कुल १४८ कम्पनीको सेयर मूल्य बढेको छ। ८७ कम्पनीको सेयर मूल्य घटेको भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ। सबैभन्दा बढी जीवन बीमा उपसमुह ५१९.२७ अंकले बढेको छ। निर्जीवन बीमा ३४५.४६ अंक, विकास बैंक २४५.९२ अंक, बैंक १४१.७६ अंक, र उत्पादन तथा प्रशोधन १३४.७१ अंकले वृद्धि भएको छ। लघुवित्त उपसमुह भने १०.०६ अंकले घटेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, र प्रभु बैंकसहित १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा कुमारी बैंक, एनआईसी एशिया बैंक, र हिमालयन रिइन्स्योरेन्स अघि रहेका छन्। कुमारी बैंकको ३६ करोड १० लाख रुपैयाँको कारोबार भएको छ भने एनआईसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कुल ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।