काठमाडाैं – भारतले रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको छ। यो भारतको दोस्रो टी-२० विश्वकप जित हो। यसअघि, भारतले २००७ मा पहिलो टी-२० विश्वकप जितेको थियो।
भारतले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो। पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट वञ्चित भयो। दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले २७ बलमा ५ छक्का र २ चौकासहित अर्धशतकीय इनिङस खेले। क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे भने ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रन बनाएका थिए। डेभिड मिलरले १७ बलमा २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
भारतका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए, उनले ३ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिए। अर्शदीप सिंह र जसप्रित बुमराहले २-२ विकेट हात पारे भने अक्षर पटेलले एक विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले ७६ रनको महत्वपूर्ण इनिङस खेले। कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर आउट भए भने ऋषभ पन्त शून्यमा आउट भए। सूर्यकुमार यादव ३ रन मात्र बनाए। तर, कोहली र अक्षर पटेलको ७२ रनको साझेदारीले भारतलाई मजबुत स्थितिमा ल्याएको थियो। पटेलले ३१ बलमा ४७ रन बनाए।
यस जितसँगै भारत दुई पटक टी-२० विश्वकप जित्ने तेस्रो टोली बनेको छ। यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डले यो उपलब्धि हासिल गरेका थिए।