काठमाडौं - सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि पुनः भारतले जितेको छ। काठमाडौंको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ सेटले पराजित गर्दै लगातार उपाधि उचालेको हो।
नेपालले पहिलोपटक काभा नेसन्स लिगको उपाधि जित्ने आशा राखेको थियो, तर यो सपना पुनः चकनाचुर भएको छ। सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो। लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा निराश बन्न पुग्यो।खेलको पहिलो सेटमा नेपालले भारतलाई २५–२३ मा पराजित गर्दै अग्रता लिएको थियो। तर, दोस्रो सेटमा भारतले सानदार पुनरागमन गर्दै नेपाललाई २५–१४ को जित निकाल्यो।
तेस्रो सेटमा नेपालले आफ्नो लयमा फर्किंदै भारतलाई २५–२२ ले हरायो। चौथो सेटमा भने नेपालले आफ्नो जितको लय गुमाउँदै २१–१८ ले सेट भारतलाई सुम्पन बाध्य भयो।अन्तिम सेटमा भारतले सुरुदेखि नै अग्रता लिँदै नेपाललाई पुनरागमनको मौका दिएन र सेट १५–५ ले जित्यो, जसले गर्दा भारतले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।