काठमाडौं - प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट टेलिभिजनमा लाइभ चलाएका थिए।
प्राइम टाइम्स टेलिभिजनमा गरिएको उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए।
सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले जनाएको छ।
धमलाले यसअघि नेपाल बार एसोसिएसनको बैठकस्थलमा अनुमतिबेगर प्रवेश गरी प्रत्यक्ष प्रसारण गर्ने प्रयास गरेका थिए। उनको त्यो कार्यको आलोचना भएको थियो।
धमला पटक-पटक विवादमा आइरहन्छन्। धमलाका टेलिभिजन अन्तर्वार्ताहरू पत्रकारिताको मर्म र भावनाविपरीत हुने गरेको आरोप लाग्ने गरेको छ।