देशव्यापी बाढी, पहिरो र डुबानबाट १७० जनाको ज्यान गयो, ४२ जना बेपत्ता

काठमाडाैं - असोज १० गतेदेखि लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो, र डुबानले हालसम्म १७० जनाको ज्यान गएको छ। गृह मन्त्रालयले आइतबार साँझ पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराएको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले बाढी, पहिरो, र डुबानका घटनाहरूमा हालसम्मको विवरणअनुसार १७० जनाको मृत्यु भएको र ४२ जना बेपत्ता रहेको बताए। यस घटनामा १११ जना घाइते भएका छन्। विपद्‌ प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायहरू परिचालन भई निरन्तर कार्य भइरहेको तिवारीले जानकारी दिए।

हालसम्म ४ हजारभन्दा बढी प्रभावित व्यक्तिहरूको उद्धार गरिएको छ। काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर लगायतका जिल्लामा १६२ जना नागरिकहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। साथै, खाद्यान्न र आपतकालीन राहत सामग्री पनि उपलब्ध गराइएको छ।

सहसचिव तिवारीले घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको र खोज, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको जानकारी दिए।

उनले अवरुद्ध राजमार्गहरू तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै त्रिभुवन राजमार्गको थानकोट–नौबिसे खण्डको झ्याप्ले खोलामा अवरोध हटाइ यातायात सञ्चालनको तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया