काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई ढुक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ। मंगलबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा उहाँले सूचना प्रविधि क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै यस क्षेत्रमा थप लगानी र व्यवसाय विस्तार गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो।
अर्थमन्त्री वाग्लेले सूचना प्रविधि तुलनात्मक रूपमा कम समयमै ठूलो उपलब्धि हासिल गर्न सकिने क्षेत्र भएको बताउनुभयो। युवा उद्यमीहरूलाई व्यवसाय विस्तार गर्न प्रोत्साहित गर्दै उहाँले सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्यमीहरूले सामना गरिरहेका समस्या तथा आवश्यकताबारे सरकारलाई जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो।
विगतमा कृषिजन्य वस्तुको उत्पादन तथा निर्यातमा लामो समय र ठूलो लगानी आवश्यक पर्ने गरेको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले सूचना प्रविधिमा गरिएको लगानीबाट तुलनात्मक रूपमा छोटो समयमै प्रतिफल हासिल गर्न सकिने बताउनुभयो। उहाँका अनुसार सरकारले चालु वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ भने कृत्रिम बौद्धिकता (एआई) को विकासका लागि समेत बजेट छुट्याएको छ।
युवा उद्यमीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने उद्देश्यले सूचना प्रविधि क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। युवाहरू विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सूचना प्रविधि क्षेत्रलाई थप प्रतिस्पर्धी र विस्तारयोग्य बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
सरकारले विश्वस्तरीय सूचना प्रविधि कम्पनीहरूलाई नेपालमा आकर्षित गर्न पहल गरिरहेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले नेपाललाई सूचना प्रविधिको भ्यालु चेन विकास हुने हबका रूपमा स्थापित गर्ने रणनीति अघि बढाइएको बताउनुभयो। काम गर्ने क्रममा देखिने कानुनी तथा व्यावहारिक समस्या क्रमशः समाधान गर्दै क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
छलफलमा सहभागी दुई दर्जनभन्दा बढी युवा आईटी उद्यमीहरूले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेकोमा सरकारलाई धन्यवाद दिएका थिए। उनीहरूले सूचना प्रविधि क्षेत्रका सेवा तथा प्रक्रियालाई प्रभावकारी बनाउन एकल विन्दु सेवा केन्द्र स्थापना गर्नुपर्ने, विदेशी मुद्रा सटहीको सुविधा सहज बनाउनुपर्ने तथा विद्यमान कानुनी जटिलता हटाउनुपर्ने माग राखेका थिए।