धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी १५ खर्ब बढी


काठमाडौँ–चालू आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी १५ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ पुगेको देखिएको छ । उनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत असारको तुलनामा असोज मसान्तमा धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी ६ दशमलव ३६ प्रतिशतले बढेको छ । 


गत असार मसान्तको वित्तीय विवरणअनुसार धितोपत्रमा २० ओटा वाणिज्य बैंकको लगानी रकम १४ खर्ब ४७ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी थियो । धितोपत्रमा लगानी गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि छ । चालू आवको पहिलो त्रैमाससम्ममा धितोपत्रमा राष्ट्रिय वाणिज्य बैंकको लगानी १ खर्ब ७१ अर्ब ४८ करोड रुपैयाँ नाघेको देखिन्छ । गत असार मसान्तको तुलनामा पछिल्लो ३ महीनामा यो बैंकले १५ दशमलव ७९ प्रतिशत बढी धितोपत्रमा लगानी बढाएको छ । गत असार मसान्तसम्म धितोपत्रमा राष्ट्रिय वाणिज्य बैंकको लगानी १ खर्ब ४८ अर्ब ९ करोड रुपैयाँ थियो । 


धितोपत्रमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानी सबैभन्दा कम छ । स्ट्याण्डर्ड चार्टर्डले चालू वर्षको पहिलो त्रैमाससम्म १२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । गत असार मसान्तको तुलनामा असोज मसान्तमा यो बैंकको उक्त शीर्षकमा भएको लगानी ९ दशमलव ७४ प्रतिशतले घटेको छ । गत असार मसान्तमा स्ट्याण्डर्ड चार्टर्डले धितोपत्रमा गरेको लगानी १३ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी थियो । 


एन.आई.सी. एशिया, एनएमबि, सिद्धार्थ र सिटिजन्स बैंकले पनि पछिल्लो ३ महीनामा धितोपत्रमा भएको लगानी घटाएका छन् । असार मसान्तको तुलनामा असोज मसान्तमा एन.आई.सी. एशियाको ४ दशमलव ७२, एनएमबिको ३ दशमलव ८४, सिद्धार्थको २ दशमलव ९९ प्रतिशत र सिटिजन्स बैंकको १ दशमलव ६८ प्रतिशतले धितोपत्रमा लगानी घटेको तथ्यांकले देखाउँछ । लक्ष्मी सन्राइज र हिमालयन बैंकको पनि धितोपत्रमा लगानी थोरै घटेको छ ।  पछिल्लो ३ महीनामा धितोपत्रमा लगानी बढाउनेमा कुमारी बैंक सबैभन्दा अगाडि छ । यसले गत असार मसान्तको तुलनामा असोज मसान्तमा धितोपत्रमा लगानी १९ दशमलव ९९ प्रतिशतले बढाएको छ । 


गत असार मसान्तमा धितोपत्रमा कुमारी बैंकको लगानी ८० अर्ब २१ करोड रुपैयाँ रहेकोमा असोज मसान्त हुँदा बढेर ९६ अर्ब २५ करोड रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय वाणिज्य बैंकहरूलाई धितोपत्र कारोबारमा लगानी गर्ने विषयमा खुकुलो नीति लागू गर्दा धेरैजसोले लगानी बढाएको जानकार बताउँछन् । राष्ट्र बैंकले गत असोज २२ गते बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशिका, २०८१ संशोधन गर्दै यसअघिको १ वर्ष व्यतीत भएका धितोपत्रको लगानीमध्येबाट एक आवमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र विक्री गर्न पाउने व्यवस्था हटाएको हो । 


त्यस्तै १ वर्षभन्दा बढी अवधिका लागि मात्र सूचीकृत धितोपत्रमा लगानी गर्न पाउने व्यवस्थालाई समेत राष्ट्र बैंकले संशोधन गर्दै ६ महीनाभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार उपसमितिका संयोजक डा. रेवतबहादुर कार्कीले धितोपत्रमा बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरूको लगानी दायरा खुकुलो बनाउन सुझाव दिएबमोजिम पछिल्लो समय नियम संशोधन भएको बताए । 
पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड भएकाले राष्ट्र बैंकले यो क्षेत्रको लगानीमा बैंक तथा वित्तीय संस्थालाई नियन्त्रण गर्न आवश्यक नभएकाले खुकुलो बनाउन सुझाव दिएको डा. कार्कीको भनाइ छ । 
वित्तीय व्यवस्थापनमा अब्बल देखिएका बैंक, वित्तीय संस्थाहरूले धितोपत्रमा समेत आफ्नो लगानी व्यवस्थापन गर्न सफल हुने भएकाले तिनीहरूलाई नियन्त्रणमा राख्न जरुरी नभएको डा कार्कीको तर्क छ । बैंक तथा वित्तीय संस्थाहरूले धितोपत्रमा लगानी गर्ने उपयुक्त वातावरण भए धितोपत्र बजारको विकाससँगै सम्बद्ध कम्पनीको नाफामा समेत सकारात्मक प्रभाव पर्ने डा कार्की बताउँछन् ।


बैंक, वित्तीय संस्थाले कुनै एक संस्थाको शेयर, डिबेञ्चर वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पूँजीको १० प्रतिशतभन्दा बढी नहुने गरी र सबै संगठित संस्थाको शेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पूँजीको ३० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्न पाउँछन् । त्यसैगरी, संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्तापूँजीको १० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था छ । 


लगानी गर्दाको अवस्थामा तोकिएको सीमाभन्दा बढी लगानी गरेको भएमा यसरी बढी लगानी भएको रकम बराबर पूँजीकोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाई पूँजीकोष कायम गरिने व्यवस्था छ । त्यस्तै आफ्नो वित्तीय स्वार्थ भएका कम्पनीमा गरिएको कुल लगानीको हकमा भने त्यस्तो लगानी आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म गर्न सकिने व्यवस्था छ । वित्तीय स्वार्थ भएको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा गरेको कुल लगानी रकमलाई पूँजीकोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाई पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ ।aa

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय