बैंकमा थुप्रियो ६ खर्ब तरलता

काठमाडौं । उद्योगी-व्यवसायी ऋण लिनै नगएपछि अहिले बैंकहरुमा ६ खर्ब रुपैयाँ थुप्रिएको छ । त्यसमध्ये ८० अर्ब रुपैयाँ त नेपाल राष्ट्र बैंकले ब्याज दिएरै बैंकहरुबाट खिचेर राखेको छ ।

करिब २० अर्ब रुपैयाँ बैंकहरुले बिना ब्याज राष्ट्र बैंकमा थुपारेर राखेका छन् । बैंकहरुले ब्याजदर घटाएर ऋण विस्तार खोजेका छन् । तर व्यवसायी कर्जा लिएर लगानी गर्न भन्दा पुरानै ऋण चुक्ता गर्ने ध्याउन्नमा छन् ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब बराबरको कर्जा लगानी गरेका थिए । राष्ट्र बैंकले यो वर्ष ११ दशमलव ५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ । अर्थात् आगामी असारसम्म थप पाँच खर्ब ६४ अर्ब रुपैयाँबराबरको कर्जा बजारमा पठाउनुपर्नेछ । तर अहिलेसम्मको कर्जा प्रवाह हेर्दा कसिलो मौद्रिक नीतिले राखेको यही लक्ष्य पनि पूरा हुन चुनौतीपूर्ण देखिन्छ । किनकि ६ महिना बितिसक्दा जम्मा दुई खर्ब मात्रै कर्जा गएको छ । गत वर्षको तुलनामा केही बढेको देखिए पनि बजार चलायमान हुने गरी कर्जा प्रवाह हुन सकेको छैन । जसका कारण बजारमा वस्तु तथा सेवाको मागसमेत बढ्न सकेको छैन ।

 

राष्ट्र बैंकले बैंकहरुबीच हुने कारोबारको ब्याजदर ३ प्रतिशतभन्दा तल जान नदिने लक्ष्य राखेको छ । तर अहिले नै यस्तो कारोबारको ब्याजदर २.८७ प्रतिशतमा झरिसकेको छ । बचत तथा ऋणको ब्याजदर धेरै तल नजाओस् भनेर राष्ट्र बैंकले मंसिर यता बैंकहरुबाट ४ खर्ब तानेको छ । त्यसका लागि ३५ करोड ब्याज खर्चेको छ ।

 

कर्जाको ब्याजदर आंशिक घटेको र आगामी दिनमा अझै घट्दै जाने देखिँदासमेत लगानीकर्ताले ऋण लिन चाहेका छैनन् । उत्पादित वस्तुको मागमा आएको कमीका कारण थप ऋण लिएर लगानी विस्तार गर्नेभन्दा पनि पुरानै ऋण तिर्ने मात्रै सोचमा व्यवसायी छन् ।

सरकारले विकास बजेट खर्च गर्न नसक्दा बजारमा माग सिर्जना हुन नसकेको हो । अर्कातिर काम र पढाइका लागि युवा बाहिरिने क्रम बढेकाले पनि बजारमा माग घट्दै गएको छ । यसले विकास बजेट खर्च गर्न र लगानीको वातावरण बनाउन सरकारमाथि दबाब परेको छ । कान्तिपुर दैनिकबाट

 

प्रतिक्रिया